16 Apr 2026
08:03 PM
The Kalika Online
16 Apr 2026
चितवन, २४ पौष । चितवनको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको उपरदाङगढीको स्वरूप फेरिँदै गएको छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएका संरचनाहरू पुनः संरक्षण र पुनर्निर्माण हुन थालेपछि गढीले नयाँ जीवन पाएको छ । लामो समय सरकारी उदासीनताका कारण ओझेलमा परेको यो ऐतिहासिक स्थल अहिले भने फरक अनुभव दिलाउने गन्तव्यका रूपमा विकास हुँदैछ ।
स्थानीय तह इच्छाकामना गाउँपालिकाको पहलमा उपरदाङगढी संरक्षण तथा पुनर्निर्माणको काम अघि बढाइएको हो । गाउँपालिकाले करिब १ करोड ८५ लाख रुपैयाँ खर्च गरेर गढी क्षेत्र संरक्षण गर्ने प्रयास गरेको छ । गढी प्रवेशद्वार, रेलिङ, पैदल मार्ग, कोतघर निर्माणलगायत संरचनामा लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।
अब गढी अवलोकन गर्न जाने पर्यटकले तत्कालीन समयमा प्रयोग गरिएका हातहतियार, युद्धमा प्रयोग हुने तोप, त्यतिबेलाका रैथाने बासिन्दाको संस्कृति झल्किने तस्बिरहरू समेत हेर्न पाउनेछन् । ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा प्रदर्शनी गर्ने व्यवस्था मिलाइएको छ, जसले उपरदाङगढीलाई जीवित संग्रहालयको रूप दिन थालेको छ ।
नेपालभर यस्ता करिब ३०० वटा गढी रहेको मानिन्छ । तीमध्ये केही गढीहरू मात्र संरक्षणको प्रयासमा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ मा पर्ने यो ऐतिहासिक गढीमा बुधबार विशेष दृश्य देखियो ।
भरतपुरस्थित नेपाली सेनाको व्यारेकमा राखिएको चण्डी तोप र गोला लिन जनप्रतिनिधि तथा सेनाका अधिकारीहरू बाजागाजासहित भरतपुरबाट उपरदाङगढी पुगेका थिए । भरतपुरस्थित सेनाको व्यारेकभित्र तोप र गोलाको पूजा गरी बाजागाजासहित उक्त सामग्री उपरदाङगढी पुर्याइएको थियो उक्त चण्डी तोप तत्कालीन युद्धमा प्रयोग गरिएको पितलको जलपले बनेको आधुनिक हतियार मानिन्छ । एक दर्जनभन्दा बढी सेनाले बल्ल–बल्ल बोक्न सक्ने यो तोप निकै भारी छ । गढीस्थित किल्लामा क्षमा पूजा गरी यो तोप अब गढी अवलोकन गर्न आउने सर्वसाधारणले हेर्न पाउने गरी राखिएको छ ।
कार्यक्रममा मध्य पृतना हेटौँडाका बाहिनीपति उपरथी श्री विष्णुकुमार खड्का, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाहिनीपति उपरथी डा. कमल बाँनियाँ, पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामा, प्रमुख कोष नियन्त्रक याम नारायण शर्मा, चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरी, सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपाने लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले उपरदाङगढीको ऐतिहासिक महत्व, पर्यटन विकासमा यसले खेल्न सक्ने भूमिका र सम्भावनाबारे धारणा राखेका थिए ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा आयोजित नव–निर्मित कोतघर समुद्घाटन तथा ऐतिहासिक हातहतियार हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । जानकारहरुका अनुसार सन् १९६० को दशकको सुरुसम्म उपरदाङगढी चितवनको सदरमुकामका रूपमा रहेको थियो । विक्रम संवत् २०१६ सालसम्म महत्वपूर्ण सरकारी अड्डा र अदालतहरू सबै यही क्षेत्रमा सञ्चालनमा थिए ।
ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने इच्छाकामना गाउँपालिका वडा नं. ७ (तत्कालीन दाहाखानी गाविसवडा नं. ३) मा पर्दछ । समुद्री सतहदेखि १,२७५ मिटर उचाइमा रहेको यो किल्ला बाइसे–चौबिसे राज्य एकीकरणका क्रममा अंग्रेज फौजविरुद्धको युद्धका बेला नेपाली भू–भागको रक्षाका लागि निर्माण गरिएको हो । पुरातत्व विभागका अनुसार सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले यो गढी निर्माण गराएका थिए । पूर्वी चितवनको टाँडीबाट करिब ६ माइल टाढा रहेको यो गढी सन् १८०० मा निर्माण भई सन् १९६० सम्म चितवनको सदरमुकामका रूपमा प्रयोग भएको थियो ।
तीन फिट चौडाइ र छ फिट उचाइको प्रवेशद्वार रहेको गढीभित्र कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायत संरचनाहरू छन् । ढुंगा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी पर्खालको मोटाइ करिब तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन् । चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले करिब तीन फिट बाक्लो पर्खालमा नौ वटा खुला झ्यालहरू बनाइएका छन् ।
चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाका ठूला टुक्रा, चुन र माटो प्रयोग गरी बनाइएको हो । उत्तरी मोहडामा प्रवेशद्वार, बीच भागमा इनार र हतियार भण्डारण गर्ने कोतघर रहेको छ । स्थानीय तहको पहल, नेपाली सेनाको सहकार्य र पुरातत्व विभागको प्राविधिक सहयोगमा उपरदाङगढीले फेरि आफ्नो ऐतिहासिक पहिचान फिर्ता पाउने संकेत देखिएको छ । संरक्षणसँगै प्रचारप्रसार गर्न सके उपरदाङगढी चितवनको महत्वपूर्ण ऐतिहासिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयको अपेक्षा छ ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .