16 Apr 2026
08:02 PM
The Kalika Online
16 Apr 2026
मुस्कान काप्री (प्रस्तोता)
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारा सहित १३औँ रत्ननगर महोत्सव आयोजना हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा हुने यो महोत्सवले पूर्वी चितवनको कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणले चार लाखभन्दा बढी दर्शक भित्र्याउने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ४५० स्टलहरू रहनेछन्, जसमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी हुने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक शंकर गिरीले जानकारी दिए ।
यस पटक महोत्सवमा विशेष आकर्षणका रूपमा दोस्रो चितवन मह उत्सव आयोजना गरिँदैछ । महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिने यो उत्सवले मौरी पालन र महजन्य उत्पादनलाई प्रोत्साहन दिनेछ । यसैगरी, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न रोजगार मेला २०८२ पनि सञ्चालन हुनेछ, जसले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए ।
महोत्सवको प्रवेशद्वारमा पहिलो पटक जनकपुरको रामजानकी मन्दिरको आकृति सहितको भव्य गेट निर्माण गरिने भएको छ । थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत संस्कृति घरहरू बनाइएका छन्, जसले ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ नारा सहित रैथाने बालीको संरक्षण र प्रवर्द्धन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा बालबालिकाका लागि फनपार्क, विभिन्न जातीय खाना र परिकार सहितको ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ पौष २९ देखि माघ ४ सम्म सौराहाचोक बसपार्कमा गरिने छ ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणमा जोड दिइनेछ । महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ भने कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरू सञ्चालन हुनेछन् ।
मनोरञ्जनतर्फ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति, आदिवासी जनजातिका भेषभुषा र नृत्य प्रदर्शन रहनेछन् । उद्घाटनका दिन विभिन्न संघ–संस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिने छ । सुरक्षा व्यवस्थाका लागि अत्याधुनिक सिसिटिभी र ५ करोडको बीमा व्यवस्था गरिएको छ ।
टिकटको विषयमा जानकारी दिँदै अध्यक्ष गिरीले सर्वसाधारणका लागि ८० रुपैयाँ, विद्यार्थीका लागि ४० रुपैयाँ, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र एकल महिलालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेश दिइने बताए । टिकट काट्नेहरूलाई मौलाकालिका केबुलकारमा २० प्रतिशत छुट हुने छ ।
मूल आयोजक समिति संयोजक शंकर गिरीले महोत्सवलाई चितवनको विशिष्ट पहिचान बोकेको पर्वको रूपमा स्थापित गर्दै समृद्ध रत्ननगर निर्माणमा कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे । यो महोत्सवले सुस्ताएको अर्थतन्त्रलाई गति दिने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र सौराहाको पर्यटकीय द्वारको रूपमा रत्ननगरलाई थप चिनाउने विश्वास गरिएको छ ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .