16 Apr 2026
08:00 PM
The Kalika Online
16 Apr 2026
खैरहनी, २९ पुस । ११औँ खिचरा महोत्सव आज औपचारिक रूपमा शुरू भएको छ । वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले पानसमा दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनिया, वागमती प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनाल, नगर उपप्रमुख कविता उप्रेती, थारू कल्याणकारिणी सभाकी केन्द्रीय पार्षद चन्द्रकुमारी चौधरी, जिल्ला कोषाध्यक्ष सविता चौधरी, नेपाली काँग्रेस नगर सभापति गुणराज श्रेष्ठ, नेकपा एमाले खैरहनीका नगर अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि जगदीशचन्द्र शर्मा तथा खैरहनी–५ का वडाध्यक्ष छत्रनाथ सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
खैरहनी–७ का वडाध्यक्ष तथा महोत्सवका सह–संयोजक मनेजर महतोले स्वागत मन्तव्य दिनुभयो भने विका महतोले थारू सांस्कृतिक भाकामा स्वागत गीत प्रस्तुत गर्नुभयो । उद्घाटनअघि खैरहनी–८ स्थित मगनी चोकदेखि महोत्सव परिसर गौचरनसम्म भव्य शोभायात्रा निकालिएको थियो । शोभायात्रामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि तथा सयौं झाँकी टोलीसहित हजारौंको सहभागिता रहेको थियो ।
कार्यक्रममा मझुई र झुवानी गाउँका टोलीबाट डफु नाच, हर्नरी गाउँबाट लाठी तथा फायर डान्स, धमौरा गाउँबाट ठेकरा नाच, हर्दी गाउँबाट झम्टा नाचलगायत विविध थारू सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए ।
उद्घाटन समारोह महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
थारू समुदायमा पुस १५ देखि माघ १५ सम्म चिसोबाट जोगिन चिच्चरको पोका खाने परम्परा छ । यही परम्पराअनुसार प्रत्येक वर्ष माघ १ गते मनाइने खिचरा पर्वको अवसरमा २०७० सालदेखि खिचरा महोत्सव आयोजना हुँदै आएको छ ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७ चितवनको आयोजनामा खैरहनी–५ स्थित गौचरनमा सञ्चालन भइरहेको महोत्सव माघ १० गतेसम्म चल्नेछ ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .