16 Apr 2026
08:03 PM
The Kalika Online
16 Apr 2026
आशिष चौधरी-खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनिया नेतृत्वको टोलीले खैरहनी–५ स्थित गौचरन क्षेत्रमा आयोजना हुन लागेको ११औँ खिचरा महोत्सवको परिसरको स्थलगत अवलोकन गरेको छ। अवलोकनका क्रममा नगरप्रमुख खनियासहित नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको टोलीले महोत्सवको समग्र तयारी, भौतिक संरचना, व्यवस्थापन पक्ष तथा आवश्यक पूर्वाधारको अवस्थाबारे जानकारी लिएको हो।
स्थलगत अवलोकनका क्रममा नगरप्रमुख खनियाले खिचरा महोत्सव खैरहनी नगरपालिकाको पहिचान, गौरव र गरिमासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसको सफल आयोजनाका लागि नगरपालिकाको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महोत्सव स्थलको सरसफाइ, सुरक्षा व्यवस्था, पार्किङ, खानेपानी, शौचालय, विद्युत तथा आपतकालीन सेवाको व्यवस्थापनलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
खैरहनी नगरपालिकाको गौरवका रूपमा परिचित खिचरा महोत्सव यस वर्ष ११औँ संस्करणको रूपमा २०८२ साल पुस २९ गतेदेखि माघ १० गतेसम्म खैरहनी–५, गौचरन क्षेत्रमा आयोजना हुने भएको छ। महोत्सवले थारू समुदायको मौलिक संस्कृति, परम्परा, खानपान, भेषभूषा, कला र जीवनशैलीलाई प्रवर्द्धन गर्नुका साथै धार्मिक, सामाजिक तथा पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ।
महोत्सवको संरक्षकका रूपमा खैरहनी नगरपालिका र थारू कल्याणकारिणी सभा चितवन रहेका छन्। आयोजकका अनुसार महोत्सवमा थारू संस्कृतिसँग सम्बन्धित झाँकी प्रदर्शन, सांस्कृतिक नाचगान, परम्परागत खेलकुद, हस्तकला प्रदर्शनी, स्थानीय उत्पादनको बिक्री वितरण तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन्।
स्थलगत अवलोकनका क्रममा नगरपालिकाको टोलीले आयोजक पक्षसँग समन्वय गर्दै महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक सुझावहरू प्रदान गरेको थियो। साथै, महोत्सवलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा विकास गर्न प्रचार–प्रसारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
आयोजक समितिले ११औँ खिचरा महोत्सवलाई अघिल्ला संस्करणहरूभन्दा अझ भव्य, सभ्य र ऐतिहासिक बनाउने तयारी भइरहेको जानकारी दिँदै सम्पूर्ण खैरहनीवासी तथा सरोकारवाला निकायको सहयोग अपेक्षा गरेको छ।
2026-04-16 08:49 AM
2026-04-08 06:24 AM
2026-04-06 10:50 AM
2026-04-02 12:02 PM
The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.
Copyright © 2025, The Kalika Online All rights reserved.
Powered by Dipesh Chaudhary. .