16 Apr 2026

08:03 PM

चितवन हात्ती महोत्सव : सौराहामा आज हात्ती वनभोज र पूजा

The Kalika Online

16 Apr 2026

# News

आशिष चौधरी (प्रस्तोता)

रत्ननगर, पुस १३ । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा आईतवार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । बाघमारा वनको मैदानमा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो ।

हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सी, भेली लगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका संयोजक गुणराज थपलियाले जानकारी दिनुभयो । एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले महोत्सवमा वनभोज कार्यक्रम राखिएको उहाले बताउनुभयो ।

“जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्”, उहाँले भन्नुभयो, “राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो ।” उहाँले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताउनुभयो । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उहाँले बताउनुभयो । मानिस र जनावरबिचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्त्वपूर्ण रहेको थपलियाको भनाइ छ ।

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ । वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो । महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी सुटआउटलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू सम्पन्न भएका छन् । महोत्सवका विभिन्न गतिविधिमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ८० वटा हात्ती सहभागी भएका छन् ।


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .